कालिकोट पहिरो अपडेट : ४ को मृत्यु, ८ जना अझै बेपत्ता



कालिकोट भदौ १४ ।

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा आइतबार बिहान आएको पहिरोले घर पुर्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

पहिरोमा अझै आठ जनाभन्दा बढी हराइरहेका छन्। २ जनाको उद्धार गरी जुम्ला पठाइएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंका अनुसार आइतबार बिहान घर माथिको सडक नै पहिरो बनेर खसेपछि चार वटा घर पुरिएका थिए। पहिरोमा परी मृत्यु हुनेमा शुभकालिका गाउँपालिका प्रयाग शाही, छोरी हिमाह, छोरा निराजन, दुइमहिने बालक अकल रहेका गुरागाईंले जानकारी दिए। जीवितै उद्धार गरिएकाहरुमा कालिकोटको शुभकालीकाका पूर्ण शाही, तिलागुफा नगरपालिकाका अर्जुन हमाल छन्।

उनीहरुलाई उपचारका लागि जुम्ला पठाइएको छ । बेपत्ता भएकाको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्