काठमाडौंमा कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो



काठमाडौं भदौ १४ ।

केहि दिनदेखि काठमाडौं उपत्यकामा कुखुराको मासु गुन्द्रुक भन्दा पनि सस्तो भएको छ ।

अहिले काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासु प्रतिकिलो २४० देखि २६० रुपैंयाँ सम्ममा कारोबार भइरहेको छ तर कालीमाटी फलफूल तथा तरकारी विकास समितिको मूल्य अनुसार गुन्द्रुकको अधिकतम मूल्य प्रतिकिलो ३०० रुपैयाँ छ। यो मूल्य अनुसार कुखुराको मासु गुन्द्रुक भन्दा ४० रुपैंयाँले सस्तो भएको छ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार यो सातामा तीन पटकसम्म मूल्य घटेको छ । मूल्य घटे पनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको संघले जनाएको छ ।

पहिलो लकडाउनमा आयातमा समस्या तथा खपत कम हुँदा कुखुराको मासु सस्तो भएको थियो । मासुको खपत घट्दा कुखुरापालक किसानले खोरमा कुखुरा नहालेकाले बजारमा मासु अभाव भएर ४ सय २० रुपैंयाँ सम्म पुगेको थियो । पछिल्लो दुई महिनादेखि बजार सामान्य भएर होटलहरु सञ्चालनमा आएकाले मासुको खपत बढ्ने र कुखुरा उत्पादन पनि बढेकाले कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघका अध्यक्ष जगबहादुर बिसीले बताए ।

उनका अनुसार बजारमा पछिल्लो केही दिनदेखि जिउदो कुखुरा आउन थालेको तथा कृषकका कुखुरा पनि मासुको लागी तयार भएको र उपत्यकामा मासुको खपत ७० प्रतिशतले घटेको छ ।

जिउदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि कतिपय किसान र फर्महरुले चल्ला हाल्न थालेका थिए । यति बेला उक्त उत्पादन आउन थालेपछि मूल्य घटेको उनको भनाइ छ । निषेधाज्ञाले गर्दा मासुको खपत कम भएको हो । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, अहिले मासुको माग एकदमै कम भएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्