नुवाकोटको शिवपुरीमा धमाधम ‘कन्ट्याक्ट ट्रेसिङ’, एकैदिन अध्यक्षसहित ३२४ जनाको स्वाब संकलन



सेरा बगरस्थित स्वाब संकलन गराउदै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा

साझा पथ संवाददाता

नुवाकोट, भदौ १४ । एकैदिन ७ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि नुवाकोट शिवपुरी गाउँपालिकामा धमाधम ‘कन्ट्याक्ट ट्रेसिङ’ थालिएको छ ।

आइतबार गाउँपालिका अध्यक्ष रामकृष्ण थापासहित ३ सय २४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो । गत बिहीबार गाउँपालिका सेवा क्षेत्रमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितको सम्पर्कमा रहेकाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले साझा पथलाई जानकारी दिए ।

उनका अनुसार संक्रमितको सम्पर्कमा रहेका वडा नम्बर १, २ र ३ का मानिसको वडा नम्बर ३ कार्यालयमा १ सय ३८ जनाको र वडा नम्बर ४, ५, ६, ७, ८ वडा क्षेत्रका १८६ जनाको गाउँपालिका कार्यालय सेरा बगरमा परीक्षण गरिएको हो । परीक्षण गरिएकामा गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, व्यापारी, ड्राइभर तथा अन्य शंकास्पद बिरामीसमेत रहेका शिवपुरी गाउँपालिका स्वास्थ्य इकाईले जनाएको छ ।

स्वाब संकलनका क्रममा गाउँपालिकाको वडा नम्बर ३ कार्यालय मा

एक्कासी गाउँपालिकामा संक्रमित देखिएको र स्थानीय हतोत्साहित भएकाले निषेधाज्ञाका साथै नाकामा कडाइसँगै परीक्षणको दायरा बढाइएको अध्यक्ष थापाले बताए । उनले साझा पथसँग कुराकानी गर्दै हालै गाउँपालिकाको सहयोगमा सेवा क्षेत्रको रोल्चेमा सुरक्षा पोस्टसमेत खडा गरिएको बताए ।

उनले गाउँपालिकामा पैदलमार्गमार्फत सुरक्षा पोस्ट छलेर नुवाकोट प्रवेश भइरहेकाले सबै नागरिक सचेत रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्