कालीकोट नाग्म पहिरोमा मृत्यु हुनेको संख्या १० पुग्यो, ज्यान गुमाउनेमा एकै परिवारका ४ जना



कालीकोट भदौ १५ । पहिरोले तिलागुफा–१ नाग्मका चार घर भत्किँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मृतकमध्ये एकै परिवारका ४ जना छन् । पहिरामा अझै २ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । प्रहरीका अनुसार पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको हो ।

शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले सुरुमा ८ र केही घण्टापछि २ जनाको शव फेला परेको बताए । उद्धार टोलीले डोजर पनि लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्