निषेधाज्ञा लगाए पनि किन बढिरहेको छ कोरोना संक्रमण ?



काठमाडौं, भदौ १५ । काठमाडौंसहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण भने निरन्तर वृद्धि भैरहेको छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति लगाइएको निषेधाज्ञाबीच आइतबार सर्वाधिक ४ सय २९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जनामा कोरोना देखिएको बताए।

किन बढिरहेछ त संक्रमण? जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी भन्छन्, ‘कोरोना भाइरसको इन्कुबेसन पिरियड (लक्षण देखिने समय) १४ दिन हो। यो संक्रमण काठमाडौंमा निषेधाज्ञा घोषणाअघिको हो।

१४ दिनअघि शरीरमा भाइरस प्रवेश गरेकाहरूमा लक्षण देखिने बेला नै यही हो। कतिपयलाई सातै दिनमा लक्षण देखिन्छ। कतिपयलाई १४ दिनसम्म पनि देखिन सक्छ।’

संक्रमितको स्वाब संकलन गरिएको १० दिनपछि पीसीआर जाँच गरिन्छ। रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गर्ने र पोजिटिभ भए थप चार दिनपछि जाँच नगरी पनि डिस्चार्ज गर्न सकिने विश्व स्वास्थ्य संगठनको प्रोटोकल हो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारीका अनुसार संक्रमित व्यक्तिबाट १४ दिनपछि अन्यलाई भाइरस सर्ने सम्भावना कम हुने बताइएको छ।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्