कोरोनाबाट चितवनमा नेकपा नेताको निधन, रुपन्देहीमा पनि थपिए १ मृतक



चितवन भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

उचारका क्रममा सोमबार बिहान उनको निधन भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ उनमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका थिए ।

जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन् । उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवन झरेका थिए । भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्