नियन्त्रण रेखा एलएसीबाट चीनले भारतीय सेनालाई हटायो



एजेन्सी भदौ १६ ।

भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ। भारतीय सञ्चारमाध्यमहरुले भने चीनले १००० वर्ग किलोमिटर भूभाग कब्जा गरेको दावीसहित विभिन्न सनसनीपूर्ण सामग्री प्रकाशनरप्रसारण गरिरहेका छन्।

भारतमा प्रकाशन हुने अंग्रेजी अखबार द हिन्दुले पनि गुप्तचर स्रोतलाई हवाला दिँदै लद्दाखमा चीनले ९०० वर्ग किलोमिटर क्षेत्रमा नियन्त्रण गरेको जनाएको छ । भारतीय सुरक्षाकर्मीले गस्ती गर्ने गरेको पेट्रोलिङ बिन्दु १०–१३ देखि देप्साङ्गसम्म अहिले चिनियाँ सैनिक तैनाथ भएका छन्। अप्रिलदेखि नै चीनले भारतसँगको सीमामा सैनिक तैनाथी व्यापक बनाएको छ।

देप्साङ्ग मैदानदेखि चुसुलसम्म चीनले एलएसी समेतलाई समेटेर व्यवस्थित तरिकाले सेना परिचालन गरेको छ। गलवान उपत्यकामा २० वर्ग किलोमिटर, हट स्प्रिङ भनिने स्थानमा १२ वर्ग किलोमिटर, पेंगोङमा ६५ वर्ग किलोमिटर र चुसुलको २० वर्ग किलोमिटर क्षेत्र पनि चीनले नियन्त्रणमा लिएको छ। यसअघि सो क्षेत्रमा पनि भारतले सेना खटाउँदै आएको थियो।

सीमामा चीनको उपस्थिति बलियो भएको तथ्यलाई भारतले पनि स्वीकार गरेको छ। भारत सरकारले सोमबार पूर्वी लद्दाख क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको आरोप लगाएको थियो।

गत जुन १५ को राती पूर्वी लद्दाखस्थित गलवान उपत्यकामा भएको हिंस्रक झडपमा भारतका २० सैनिक घटनास्थलमै मारिएका थिए। झडपमा थुप्रै सैनिक गम्भीर घाइते भएपनि भारत र चीन दुवैले ती सैनिकको अवस्था गोप्य नै राखेका छन्।

त्यसयता दुवै देशबीच तनाव कम गर्न वार्ता भएको भनिएको छ, तर मुठभेडको स्थितिका लागि दुवैले सामरिक शक्ति सीमामा केन्द्रित गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्