वाग्मती प्रदेशसहित विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना



काठमाडौँ, भदौ १७ । दुई दिन केही सफा भएको नेपालको मौसम पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि मंगलवबारदेखि तीन दिन बदली हुनेछ । मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिनुभयो ।

मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ । श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको । आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।

वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा मंगलवार र बुधबार भारी वर्षाको सम्भावना छ । पश्चिम सर्ने क्रममा बुधबार कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताउनुभयो । “थोरै ठाउँमा भारी वर्षा हुन्छ, हल्का पानी भने मुलुकका अधिकांश ठाउँमा पर्छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।

प्राप्त विवरणअनुसार मंगलवार प्रदेश १ का ताप्लेजुङ र धनकुटा तथा वाग्मती प्रदेशका रसुवा र काठमाडौँमा पानी परेको छ । गोरखाको बारपाक स्टेशनले सबैभन्दा बढी पानी परेको देखाएको छ । मंगलवार प्रदेश नं ५ को पूर्वी भूभाग नवलपुर बर्दघाट क्षेत्रमा पानी परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा बुधबार मौसम बदली भई समग्रमा तीन दिन धेरै स्थानमा पानी पर्ने सम्भावना छ । पछिल्लो केही दिन खासै पानी नपरेकाले माटोमा पानी सोस्ने क्षमता वृद्धि भएको तर भारी वर्षा भयो भने जोखिम कायमै रहेको जनाइएको छ ।

अहिले मनसुन सक्रिय नै छ । मुख्यतः सेप्टेम्बर २३ देखि मनसुन हराउँदै जाने तर नेपालमा एकै पटक मनसुन घट्ने नभई पाकिस्तानबाट विस्तारै फर्किँदै जाने हुन्छ । त्यसपछि मात्रै नेपालबाट हट्छ । “पछिल्ला केही वर्षको अवस्था हेर्दा अक्टोबर पहिलो हप्तासम्म मनसुन सक्रिय भएको देखिन्छ”, मौसमविद् श्रेष्ठले भन्नुभयो, “यसपाली पनि सेप्टेम्बरमा मनसुन सकिने सम्भावना कम छ ।” यसपाली नेपालमा औसत मनसुन रहे पनि मनसुनपूर्व नै भारी वर्षा हुँदा जमिन गलेकाले पहिराका ठूलो घटना हुन पुग्यो । यसबाट जनधनको ठूलो क्षति भएको थियो ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्