सरकारलाई राज्य व्यवस्था समितिको सुझाव – कोरोना संक्रमण रोक्न प्रभावकारी योजना बनाउनु



काठमाडौं भदौ १७ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले मुलुकभर कोभिड–१९ को महामारी बढिरहेका सन्दर्भमा सङ्क्रमण न्यूनीकरण तथा रोकथाम गर्न थप प्रभावकारी रणनीतिक योजना बनाउन सरकारलाई सुझाव दिएको छ । समितिले कोभिड–१९ को सङ्क्रमित होम आइसोलेशनमा रहने व्यवस्थाले सबै सङ्क्रमितले समयमै स्वास्थ्यकर्मीबाट परीक्षणमा पहुँच र निगरानी तथा अनुगमन सहज नहुने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई सुझाव दिएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

भर्चुअल माध्यमबाट भएको समितिको पछिल्लो बैठकको निर्णयमा भनिएको छ, ‘आवश्यक स्वास्थ्य सुरक्षा सतर्कताबिना नै आफूखुशी बस्दा अन्यलाई सङ्क्रमण सर्ने उच्च जोखिम देखिएकाले होम आइसोलेशनमा बस्न सम्भव नहुनेको सुरक्षित र भरपर्दो स्थानमा उपचार र व्यवस्थापन गर्न सरकारले जिम्मा लिनुपर्छ ।’ संयुक्त परिवारमा बस्ने हाम्रो संस्कार, शहरका एकाध घर छाडेर आर्थिक अवस्थाले एउटै कोठामा डेरामा बस्नुपर्ने बाध्यता, त्यसबाट हुनसक्ने सङ्क्रमणको जोखिमको पक्षलाई मनन गरी उपचारको दायित्व राज्यले नै लिनुपर्छ भन्ने समिति सदस्यको मत थियो । यस्ता विषयलाई समयमै सम्बोधन गर्ने नीति नभएमा स्थिति थप भयावह हुन सक्नेतर्फ सचेत रहन सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारले कोभिड–१९ जोखिमको समयमै आँकलन गरी रोकथाम र नियन्त्रणलाई उच्च प्राथमिकता दिई लिएको लकडाउनसम्बन्धी नीति र हाल अघि बढाइको व्यवस्थापन विधि अरु मुलुकको तुलनामा निकै प्रभावकारी भएको जनाउँदै आएको छ ।

सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भने कोभिड–१९ रोकथाम र नियन्त्रणको प्रभावकारी कार्ययोजना नआएको भनी आलोचना गर्दै आएको छ । समितिले कोभिड–१९ को उपचार र व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिपिई, फेसशिल्ड, पञ्जा, मास्कलगायतका अत्यावश्यक सुरक्षा सामग्री सहज र अनिवार्य उपलब्ध गराउन पनि सरकारलाई निर्देश गरेको छ ।

कोभिड–१९ सङ्क्रमणका बिरामीको उपचार र व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले घोषणा गरेको जोखिम भत्ता यथासम्भव छिटो उपलब्ध गराउनसमेत माग हुँदै आएको छ । जोखिममा खटिने त्यस्ता जनशक्तिलाई प्रोत्साहन गर्ने र सामाजिक सुरक्षाको कार्यमा राज्यले विशेष ध्यान पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

पछिल्लो समय समुदायस्तरमा कोभिड–१९ को सङ्क्रमण बढेकाले कोरोनाबाट जोगिन अपनाउनुपर्ने स्वास्थ्य सजगता तथा होसियारी, कोरोनाको जोखिम र उपचार सेवा प्राप्त गर्ने प्रक्रियाबारे सर्वसाधारणलाई जनचेतना जागृत तुल्याउने कार्यमा युवा तथा भ्रातृ सङ्गठनका कार्यकर्तालाई परिचालित गर्न सरकार र राजनीतिक दललाई सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्