अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट



एजेन्सी भदौ १७ ।

अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट देखिएको छ । त्यहाँ मन्दीको अवस्था श्रृजना भएको छ ।

कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा परेको असरका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा इतिहासमै ठूलो गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात अप्रिल–जुनमा अस्ट्रेलियाको अर्थतन्त्रमा सात प्रतिशतले गिरावट आएको हो ।

यसअघि पहिलो त्रैमासिकमा ०.३ प्रतिशतको गिरावट आएको थियो । लगातार दुई त्रैमासिकमा आर्थिक वृद्धि नकारात्मक रहेमा अर्थतन्त्रमा मन्दी आएको मानिन्छ ।सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीमा समस्याबाट मुक्त रहेको एक मात्र अस्ट्रेलियाली अर्थतन्त्रमा कोरोना भाइरसको महामारीको प्रभाव अति नराम्रोसँग परेको देखिएको छ ।

अस्ट्रेलियामा सन् १९५९ यता आर्थिक वृद्धिको तथ्यांक राख्न थालिए यता सबैभन्दा ठूलो गिरावट आएको हो । अस्ट्रेलियाले यसअघि सन् १९९० को मध्यमा आर्थिक मन्दीको सामना गरेको थियो । त्यसबेला आर्थिक मन्दी सन् १९९१ सम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्