पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री पोख्रेल



काठमाडौं , भदौ १७।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् ।

बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियामा मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।

पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मुल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने बताएका छन् । उनले वैकल्पिक सिकाइका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।

यस्तो प्रस्तावमा प्रधानमन्त्री पनि सकारात्मक रहेको शिक्षामन्त्री पोखरेलको भनाइ छ । कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाइलाई सबै विद्यार्थीको पहुँचमा पुर्‍याउनुपर्ने धारणा राखे ।सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षावारे अविलम्ब निर्णय गर्न शिक्षामन्त्रीलाई आग्रह गरे ।

भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, रश्मी आचार्य, तिलकराज भण्डारी, दीपक देवकोटा, पञ्चा सिंह, सुनीता बराल, विजय गौतमलगायत ३१ जना विद्यार्थी नेता सहभागी थिए ।

अन्तर्क्रियामा विद्यार्थी नेताहरुले जसरी भए पनि शैक्षिक सत्र जोगाउन, वैकल्पिक सिकाइको पुनरावलोकन गरी थप प्रभावकारी बनाउन, अवरुद्घ परीक्षा वैकल्पिक विधिवाट संचालन गर्न, कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्