कोरोनाको लडाइमा खटिने व्यक्तिले भत्ताबाट बिमुख हुनुपर्दैन: स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं भदौ १७ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वय गरेर काम गर्नुपर्ने बताए।

उनले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले कोभिड १९ को अहिलेसम्म कुनै खोपको विकास भइ नसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहयोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए । उनले कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने स्पष्ट पारेका छन् ।

ढकालले प्राविधिक कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइमा काम गरेका व्यक्तिले भत्ताबाट बिमुख हुन नपर्ने धारणा राखेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८,५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाइने बताए। अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि उनको भनाई छ।

आइशोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै ढकालले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए।

मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिए। भर्चुअल बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजिटिभ भएर आइशोलेसनमा रहेकाले सहभागी भएनन्। बैठकमा प्रदेश २ का सामाजिक विकासमन्त्रीबाहेक अन्य सबै प्रदेशका सामाजिक विकास मन्त्री सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्