भारतमा पब्जी सहित ११८ चिनियाँ एप प्रतिबन्ध



एजेन्सी भदौ १७ ।

भारत सरकारले चर्चित भिडियो गेम पब्जी सहित एक सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ ।

चीनसँगको विवादले साइबर सुरक्षामा पनि असर परेको भन्दै भारतले यस्तो निर्णय गरेको बताइएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले एप्लिकेसन उद्योगलक्षित लगाएको प्रतिबन्ध यो तेस्रो पटक हो ।

एप्लिकेसनमाथि लगाइएको प्रतिबन्धले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताहरुको इच्छाको कदर गरेको विश्वास मन्त्रयालयले लिएको छ । भारतको साइबर सुरक्षा र राष्ट्रियताका लागि यस्तो निर्णय गरिएको उसले उल्लेख गरेको छ । मोबाइल एपको दुरुपयोग धेरै भएको घटना आएसँगै एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यस्ता एपहरूमा प्रतिबन्ध लगाउनुपरेको मन्त्रालयले बताएको छ ।

भारतले पछिल्लो समय चीनसँग बढेको विवादसँगै चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउन थालेको छ । उसले अघिल्लो महिनामात्रै चीनका टिकटकसहित ५९ मोबाइल एप प्रतिबन्ध गरेको थियो । भारतमा पब्जी गेम निकै चर्चित छ । भारतमा मात्रै यो गेमको सक्रिय मासिक प्रयोगकर्ता चार करोड रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्