यसरी छाडे घ्याङफेदीवासीले पुर्ख्यौली थलो



टेन्टबाट निर्माण गरिएको आवास

नुवाकोट , भदौ १७ । दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीमा बुधबार मध्याह्‍न चहल पहल थियो । जहाँका स्थानीय धमाधम भाँडाकुँडा र अन्नपात ओसार्दै गरेको दृश्य देखिन्थ्यो । वर्षात्‌को मौसम घ्याङफेदीका डाँडामा बादल मडारिएको थियो ।

नयाँ स्थानमा सर्दै गरेका स्थानीयको मनमा भने सन्नाटा छाएको थियो । पुस्तौंदेखिको थलो पहिरोले पुरिने डरले छोड्नुपर्ने बाध्यताले उनीहरुको मन चिमोटिएझै अनुभूत गर्न सकिन्थ्यो । कारण बस्तीमाथिको अजंगको ढुंगाले जोखिम निम्त्याएपछि वर्षौंदेखिको आफ्नो थलो छोड्नुपर्ने थियो। यसअघि संघीय सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोट, स्थानीय सरकारको पहलमा बुधबार दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका तीन बस्ती सार्ने निधो भैसकेको थियो ।

टेन्ट निर्माणस्थलमा छलफल गर्दै स्थानीय युवाहरू

दोचेस्थित वडा कार्यालयसँगै ६ वटा अस्थायी आवास निर्माण गरिएको छ । त्यस्तै १० घर सल्लेडाँडामा र १० घर हाइड्रोपावरको चउरमा टेन्ट टागेर सारिएको गाउँपालिकाको कार्यालय दुप्चेश्वरले जनाएको छ। त्रासबीच जीवनयापन गरिरहेका उनीहरु बुधबारदेखि अस्थायी टेन्टमा बस्‍न थालेका हुन् ।

गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङले परिवार संख्या १/२ जना मात्रै रहेका ३ परिवार भने आफन्तकोमा आश्रय लिएर बसेको बताए । वर्षामा वडा कार्यालय आसपासका क्षेत्रमा खानेपानीको खासै समस्या नदेखिए तापनि सफा तथा सुरक्षित खानेपानीको व्यवस्थापन र बिजुली बत्ती जडान तत्काल गर्नुपर्ने गर्ने पीडितको माग छ ।

यसअघि सबै परिवार एकै ठाउँमा बस्ने योजना बनाएका भए पनि जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटमार्फत पठाएको टेन्ट अनुमान गरेभन्दा ठूला भएकोले धेरै ठाउँमा बाँडिएको र पानी तथा बत्तीको व्यवस्थापन पनि त्यसै अनुसार गर्नुपर्ने भएको गाउँपालिका अध्यक्षले बताए । जोखिममा परेका २८ घरपरिवारलाई सार्न गाउँपालिका कार्यालय तथा स्थानीयले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्