रौतहटका पुजारी हत्याको कारण आर्थिक लेनदेन , २ जना पक्राउ



रौतहट भदौ १७ ।

रौतहटको माधवनारायण नगरपालिका वडा नं २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलेको छ ।

प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा विवाद भएको थियो ।

त्यसक्रममा ३ भदौमा राति कटुवा पेस्तोल प्रयोग गरेर पुजारीको हत्या भएको खुलेको सिंहले बताए । उनका अनुसार पुजारी शाहले गाउँमा हुने विभिन्न विषयका छलफलमा पनि फरक मत राख्ने गरेकाले पटेलसहित अन्यसँग विवाद हुने गरेको थियो ।

प्रहरीले हालै रामनरेशसहित बालकुमार पटेललाई भारतको बिहारबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । प्रकरणमा देवाही गोदाही नगरपालिका वडा १ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।

पक्राउ परेका दुई जनाविरुद्ध विस्तृत अनुसन्धानका लागि जिल्ला अदालत, गौरबाट १० दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्