काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको प्रति मेयरहरुको असन्तुष्टि



काठमाडौं भदौ १८ ।

जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाएको भन्दै काठमाडौं उपत्यकाका मेयरहरुले असन्तुष्टि जनाएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले ४ भदौबाट जारी निषेधाज्ञाको अवधि थप एक साताकालागि लम्ब्याएका छन् । तर, संक्रमण फैलिँदो रहेका बेला थप कडाई गर्नुपर्नेमा खुकुलो बनाइएको भन्दै उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको हो । फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।

हिजो तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारीसाधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बुँदामा मेयरहरुले असन्तुष्टि जनाएका छन् ।

यही कारण संक्रमण थप फैलिन सक्ने जोखिम रहेको मेयरहरुको भनाई छ । फोरमका अध्यक्ष तथा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य आफैं संक्रमित भएर आइसोलेसनमा रहेका छन् काठ। फोरमले उपत्यकाका सबै स्थानीय तहबाट प्रवाह हुने सेवालाई समेत आगामी २४ गतेसम्मका लागि बन्द गरेको छ । फोरमले स्वास्थ्य मापदण्ड पालना गरी सबै उपत्यकाबासीलाई घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्