डा. गोविन्द केसीको सत्याग्रह अनिश्चित कालका लागी स्थगित



जुम्ला भदौ १८ ।

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले सत्याग्रह फेरि स्थगित गरेका छन्।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पूर्वाधारसहित डाक्टर विषय पढाइलगायतका माग राख्दै सत्याग्रह बस्ने भन्दै जुम्ला पुगेका थिए । तर कोरोनाको प्रभाव बढेपछि केही समयका लागि भन्दै उहाँले सत्याग्रह स्थगित गरेका हुन् । डा. केसीले प्रेस विज्ञप्ति निकालेर यसबारेमा जानकारी दिएका हुन्।

यसैगरी सरकारले आफ्ना माग पूरा नगरेको खण्डमा कुनै पनि बेला सत्याग्रह गर्ने जानकारीसहित उहाँले चेतावनीसमेत दिएका छन् । डा. केसीले विज्ञप्तिबाटै यस्तो जोखिम समयमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीहरुलाई नियमित सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले गएको साउन ११ गते जुम्लामा नै पत्रकार सम्मेलन गरेर तीन बुँदे माग सार्वजनिक गरेका थिए । चिकित्सा क्षेत्रका ती माग तीन हप्तापछि सरकारलाई पूरा गर्न र माग पूरा नभए जुम्लामा सत्याग्रह बस्ने बताएका थिए ।

यसैगरी डा. केसीले साउन ३२ गते फेरि पत्रकार सम्मेलन गर्दै भदौ ११ गते अनसनको समय सारेका थिए । यसैगरी भदौ ११ गते पनि डा. केसीले सत्याग्रह बस्ने वातावरण नभएपछि स्थानीय प्रशासनको अनुरोध भन्दै एक हप्तापछि सत्याग्रह सारेका केसीले फेरि एक विज्ञप्ति निकाल्दै स्थगन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्