काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो



काठमाडौँ, भदौ १९ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या सात हजार नाघेको छ ।

स्वास्थ्यका विज्ञहरूले उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको बताउदै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन वा दिन आग्रह गरेका छन् ।

नेपालमा पहिलोपटक उपत्यकामा गत माघ ९ मा चीनको वुहानबाट घर आएका एक विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो । बिहीबार साँझसम्ममा ४ सय ९६ जनामा कोरोना पुष्टिसँगै उपत्यकामा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार काठमाडौंमा ५ हजार ६ सय २२, ललितपुरमा ८ सय १८ र भक्तपुरमा ५ सय ९८ जना संक्रमित भइसकेका छन् । स्वास्थ्य मन्त्रालयले दिउँसो ४ बजेको पत्रकार सम्मेलनमा काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना गरी ४ सय ४५ जना संक्रमित थपिएको जनाएको थियो ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाका अनुसार उपत्यकामा वैशाखदेखि फाट्टफुट्ट संक्रमित देखिँदै आएकामा असार तेस्रो सातादेखि संख्या उल्लेखनीय रूपमा बढेको थियो । चैत दोस्रो सातादेखि मुलुकभरमा लगाइएको लकडाउन साउन ६ गते खोलिएसँगै मानवीय गतिविधि बढेपछि उपत्यकामा संक्रमणको विस्तार तीव्र भयो । हाल उपत्यकामा बालबालिका, बुढापाका गरी हरेक उमेर समूहका संक्रमित देखिएका छन् । संक्रमण सबै क्षेत्रमा देखिएको छ । ‘सुरक्षाकर्मी, बैंकका कर्मचारी, साना–ठूला व्यवसायी, स्वास्थ्यकर्मी, उपचारमा आएका बिरामी, समुदायका अन्य व्यक्तिलगायतमा संक्रमण बढी मात्रामा देखिएको छ,’ कोइरालाले भने ।

उपत्यकामा संक्रमित देखिन सुरु हुँदा पुरुषको दाँजोमा महिलाको संख्या न्यून थियो । तर हाल कुल संक्रमितमध्ये करिब ३० प्रतिशत महिला रहने गरेको कोइरालाले बताए । ‘उपत्यकामा संक्रमण समुदायस्तरमा बढ्न उन्मुख छ,’ उनले भने । हाल उपत्यकालगायत जनघनत्व बढी भएको ठाउँमा जनस्वास्थ्यको अन्य मापदण्ड अपनाउनुका साथै उपयुक्त रूपमा मास्क प्रयोग गरेर संक्रमणको विस्तार रोक्न सहयोग गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । ‘अत्यावश्यक काम भए मात्र घर बाहिर निस्किने, उपयुक्त रूपमा मास्कको प्रयोग गर्ने, अन्य व्यक्तिसँग दुई मिटरको भौतिक दूरीमा रहने र नियमित रूपमा साबुनपानीले हात सफा गर्ने गरे संक्रमणको सम्भावना कम गर्न सकिन्छ,’ उनले भने ।

यो समाचार कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्