जापानबाट पीसीआर नगरी ल्याइएका यात्रुको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं, भदौ १९ ।

नेपाल एयरलाइन्सले सेप्टेम्बर २ तारिख अर्थात भदौ १७ गते बुधबार जापानको नारिताबाट ल्याइपुर्याएको यात्रुको कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको उडानले नारिताबाट बुधबार दिउँसो ४ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याईपुर्याएका २१५ यात्रुमध्ये पीसीआर रिपोर्ट नभएका एक यात्रुलाई बोकेर आएको खुलेको थियो ।

ओरालिइसकेपछि नेपाली सेनाको टोली यात्रुहरुको रिपोर्ट चेकजाँच गर्ने क्रममा एक यात्रु पीसीआर परीक्षण बिनै जापानबाट उक्त फ्लाइटमा आएको भेटिएपछि तिनलाई पीसीआरका लागि अलग्गै लगियो भने ती यात्रुको कोरोना भाइरसको पीसीआर परीक्षण रिपोर्ट नआएसम्मका लागि बाँकी २१४ जनालाई उपत्यकाका विभिन्न होल्डिङमार्फत होटल क्वारेन्टाइनमा राख्न लगाइएको थियो ।

ती यात्रुको बिहीबार साँझ आएको पीसीआर परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएपछि रातिदेखि नै विभिन्न होटल क्वारेन्टाइनमा राखिएका यात्रुहरुलाई घर जान दिने क्रम नेपाली सेनाले शुरु गरेका थिए ।

यसमध्ये प्रदेश नं ३ का बाँकी यात्रुहरुलाई केहीबेर अघिबाट होटल क्वारेन्टाइनबाट छुटकारा दिइएको बताइएको छ । अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरुको कोरोना भाइरस संक्रमण चेकजाँचको जिम्मा नेपाली सेनालाई दिइएको छ । यात्रुहरुको क्वारेन्टाइनको सुरक्षाको जिम्मा पनि सेनालाई दिइएको छ ।

सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई विदेशमा आउने यात्रुसँग कोरोना भाइरस ९कोभिड–१९०को पीसीआर रिपोर्ट अनिवार्य हुनुपर्ने अन्यथा गैरपीसीआरधारी यात्रुलाई बोकेर ल्याएमा त्यसबाट आइपर्ने सम्पूर्ण खर्च सोही एयरलाइन्सले नै व्यहोर्नुपर्ने नियम बनाएको छ । योपटक नेपाल एयलाइन्सले सरकारको नियमको गम्भीर उल्लंघन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्