रथ यात्रामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नौ जनाविरुद्ध अनुसन्धान सुरु



काठमाडौं भदौ १९ ।

प्रहरीले ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नौ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

उनीहरुविरुद्ध यो ऐनसँगै कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरुद्धको कसुर पनि आकर्षित हुने भएकाले यी मुद्दा अन्तर्गत पनि अनुसन्धान अघि बढाउने महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी टेकप्रसाद राईले बताए ।

ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ललितपुर १६ गावाहलका महेश बज्राचार्य, ११ का पृथविन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य र १६ का रवीन शाक्यलाई पक्राउ गरेको छ ।

यस्तै ललितपुर महालक्ष्मी नगरपालिका १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी ८ का श्याम श्रेष्ठ र काठमाण्डौ १६ का यादवलाल कायस्थ पक्राउ परेका छन् ।

यस्तै प्रहरीले पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्नेबारे पनि अनुसन्धान गरिरहेको छ ।बिहीबार झडपमा घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको अल्का अस्पताल ललितपुरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्