लकडाउनदेखि निषेधाज्ञासम्म २ हजार २ सय १८ जनाले गरे आत्महत्या



काठमाडौं भदौ १९ ।

विश्वव्यापी कोरोना भाइरसको महामारीबाट नेपालमा हालसम्म २ सय ७१ भन्दा बढीको मृत्यु हुँदा यही बीचमा देशभर २ हजारभन्दा धेरैले आत्महत्या गरेका छन् ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउनदेखि निषेधाज्ञासम्म २ हजार २ सय १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यो समयसम्म २ सय ५७ जनाको मात्रै कोरोनाले मृत्यु भएको छ । आत्महत्या गर्नेमा १ हजार १ सय ७२ जना पुरुष छन् । ९ सय ११ महिला छन् । यस्तै ९४ बालक र १४१ जना बालिका रहेका छन् ।

आत्महत्या गर्ने ७० प्रतिशत मानिसले झुण्डिएर आत्महत्या गरेका छन् । त्यो बाहेकले विष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, डुबेर आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ। आत्महत्याका घटना सबैभन्दा बढी प्रदेश ५ मा घटेका छन् । पाँच महिनाको अवधिमा प्रदेश ५ मा ४ सय २९ जनाले आत्महत्या गरेका छन् ।

प्रहरी तथ्यांकअनुसार प्रदेश नम्बर १ मा तीन सय ७१, प्रदेश नम्बर २ मा ३ सय पाँच, बागमती प्रदेशमा तीन सय ८५ जनाले आत्महत्या गरेका छन् । यस्तै गण्डकी प्रदेशमा दुई सय ४६, कर्णाली प्रदेशमा १ सय १९ जनाले आत्महत्या गरेका छन् । कर्णालीभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा दुई सय चार जनाले आत्महत्या गरेका छन् ।

कोरोना महामारी आउनुभन्दा पहिले बार्षिक ५ हजारले आत्महत्या गर्ने गरेका थिए । तर यो पाँच महिनामा मात्रै दुई हजार बढीले आत्महत्या गरेपछि अवस्था केही चिन्ताजनक रहेको नेपाल प्रहरीले जनाएको छ ।

लकडाउनको समयमा रोजगारी गुम्दा, आर्थिक समस्या आउँदा जातीय विभेद र सामाजिक दुव्र्यवहार र कोरोनाकै कारण खेपेको विभेदले पनि धेरैलाई आत्महत्या गर्ने अवस्थामा पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्