दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको सहज जित
काठमाडौँ,कात्तिक ११ । कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमले १९ बल बाँकी छँदै जित निकालेको हो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ५१ रन बनाए। इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए। ५६ रनमा ३ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमका लागि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गरे।
इशान ३७ रनमा आउट भएपछि क्रिजमा आएका शेर्फेन रदरफोर्डले ४ बलमा एक छक्कासहित अविजित ८ रन बनाए। यसअघि ब्रान्डन म्याकमुलनले २२, सेफ जेबले १५ र विनोद भण्डारीले ४ रन जोडेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो। पोखराका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले २५ बलमा ४ चौका र एक छक्कासहित अविजित ४० रन बनाए। महेदी हसनले ३२, कप्तान कुशल भुर्तेलले २१ र शकिब अल हसनले १४ रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा २३ रन खर्चिए। कप्तान दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए भने हेमन्त धामी र स्कट कुगेलेइनले समान एक विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिमले एनपीएलमा आफ्नो प्रदर्शनलाई थप बलियो बनाएको छ।

