कास्कीमा पाँच जना मिलेर गरे साथीको हत्या, पाँच जना पक्राउ



कास्की,कात्तिक ११ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसमा पाँच जना मिलेर आफ्नै साथीको हत्या गरेको खुलेको छ। सँगै मदिरा पिएर फर्किने क्रममा सुरु भएको विवादपछि २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार राजेन्द्र गाउँका साथीहरूसँग स्थानीय होटलमा मदिरा पिएर फर्किने क्रममा विवादमा परेका थिए। साँझ करिब ६ बजे होटलबाट निस्किएपछि मदिरा सेवनको विषयमा उनीहरूबीच विवाद भएको थियो। विवाद साम्य पारेर छुट्टिने क्रममा राजेन्द्रले साथी लीलबहादुर पुनको घरमा रहेको मौरीको घारमा लात्तीले हानेपछि झगडा थप चर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विवादका क्रममा राजेन्द्रले आँसीले प्रहार गर्दा मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा सामान्य चोट लागेको थियो। त्यसपछि घर फर्किएका उनीहरूले बदला लिने सोच बनाएर अन्य साथीलाई समेत बोलाई राजेन्द्रमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार उनीहरू राजेन्द्रको घरमा पुगेर बाहिर बोलाएपछि बाँस, भाटा, लात्ती र मुक्काले कुटपिट गरेका थिए। गम्भीर घाइते भएका राजेन्द्र उठ्न नसकेर घरनजिकैको बारीको कान्लामा लडेका थिए।

राति छोरालाई बोलाउँदा नउठेपछि उनकी आमाले कान्लामा लडिरहेका राजेन्द्रलाई सिरक ओढाएर आफू सुत्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। भोलिपल्ट बिहान करिब ८ बजे राजेन्द्र मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलबाट बाँस, भाटा, बियरको बोतल र पानीको बोतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। मृतकको शरीरमा नीलडाम र चोटपटक देखिएको तथा कपडा च्यातिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। हत्यामा कसको कति संलग्नता थियो भन्ने विषय अनुसन्धानपछि खुल्ने प्रहरी उपरीक्षक कार्कीले बताए।

राजेन्द्र ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका थिए। उनी आमा र भाइसँग बस्दै आएका थिए। घटनाको दिन भाइ घरमा नभएको र आमा पनि मदिरा सेवन गरेर बसेकाले छोरामाथि भएको आक्रमणबारे थाहा नपाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्