निजी ल्याबमा पीसीआर परिक्षण गरे बीमा दाबी गर्न नपाइने



काठमाडौं भदौ १९ ।

निजी ल्याबबाट परीक्षण गरिएको कोरोना भाइरसको पीसीआर रिपोर्टका आधारमा बीमा कम्पनीमा दाबी भुक्तानी गर्न नपाइने भएको छ।

बीमा समितिले निजी ल्याबबाट कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्टलाई आधार मानेर दाबी भुक्तानी नगर्न कम्पनीहरुलाई पत्राचार गरेको हो। बीमा समितिका प्रवक्ता राजु रमन पौडेलले विश्वभर कोरोना महामारी भए पनि नेपालमा मात्र कोरोना बीमाको सुविधा रहेको र यसको दुरुपयोग नहोस् भनेर सबै कम्पनीहरुलाई पत्राचार गरेको बताए।

उनले सरकारी मातहतका अस्पताल तथा ल्याबबाट पीसीआर रिपोर्ट ल्याएपछि मात्र बीमकले दाबी भुक्तानी गर्न पाउने बताए।

बीमा कम्पनीहरुले बीमा दाबी भुक्तानीका लागि आवश्यक पर्ने पीसीआर रिर्पोटमा शंका गरिरहेका थिए। कोरोना बीमा पोलिसीमा बीमा भुत्तानीका लागि बीमितका नाम, रोग शुरु भएको मिति र विवरण, पूर्ण रुपमा भरिएको दाबी फारम र कोरोना संक्रमण पुष्टि भएको परीक्षणको सम्पूर्ण कागजातका साथै अस्पताल भर्ना भएको र डिस्जार्च भएको कागजात वा चिकित्सकहरुले दिएको कागजात हुनुपर्ने उल्लेख छ।

प्रवक्ता पौडेलले पोलेसीमा उल्लेख भएका कागजातहरु निजी अस्पताल तथा ल्याबको नभइ सरकारी मातहतमाको हुनुपर्ने बताए। नक्कली रिर्पोट ल्याएर बीमा दाबी भुक्तानीका लागि आउन थालेको बीमा कम्पनीहरुबाट गुनासो आएको उनले बताए।

नेपालमा कोरोना महामारी बढ्दै गएपछि सरकारी ल्याबले मात्र परीक्षण गर्न नसक्ने भन्दै निश्चित शुल्क तोकेर निजी ल्यावलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्