आफन्त पनि, मलामी पनि



काठमाडौं,भदौ २० । कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे।

शव नदेख्दासम्म उनमा अलिअलि डर थियो। अस्पतालको कोभिड आईसीयूको ढोकामा पुगेर शव नियाले। जब शवनजिक पुगे तब डर र त्रास हरायो। कतै केही भइहाल्छ कि भन्ने डरलाई जिम्मेवारीले जित्यो। निर्धक्कसाथ उनले शवलाई प्लास्टिकले बेरेर बाहिर निकाले। त्यसपछि तोकिएको स्थानमा शव व्यवस्थापन गर्न लगे। शवलाई अन्तिम सलामी दिई गाडेर फर्किए।

लमजुङ बेसीसहरका ३८ वर्षीय गुरुङले सेनामा रहेर देशको सेवा गरेको १८ वर्ष भयो। उनी पाँचवटा शव व्यवस्थापनामा सहभागी भइसकेका छन्। ‘आफन्तले सदगद गर्न पाउँदैनन्, त्यति बेला मै आफन्त रहेछु भन्ने सोचाइ हुन्छ’, उनी भन्छन्, ‘दुखद घटना भए पनि यस्तो महामारीमा जिम्मेवारी वहन गर्न पाउँदा गर्व महसुस भयो।’

संक्रमितका आफन्त पनि उनीहरू नै हुन्, मलामी पनि। जब शवलाई व्यवस्थापन गर्न जान्छन् त्यति बेला उनीहरू भावुक हुन्छन। मानिसको त्यस्तो मरण जहाँ न आफन्त हुन्छन् न त मलामी। भरतपुर ब्यारेकमा कति खेर खबर आउला भनेर शव व्यवस्थापनको टोली तयारी अवस्थामा रहन्छ।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा अनिल ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्