टोखा नगरका कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिका बन्द



काठमाडौं,भदौ २० । टोखा नगरपालिकामा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिकाको कार्यालय एकहप्ताका लागि बन्द भएको छ।

पछिल्लो समययता नगरपालिकाका कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएको भन्दै नगरपालिकाले भदौ २१ देखि २६ गतेसम्म एकहप्ता नगरपालिका बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जनाएका छन् । उनले नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको र थप कर्मचारीलाई समेत सङ्क्रमण फैलन सक्ने भएकाले एक हप्ताका लागि कार्यालय बन्द गर्न लागेको जानकारी दिए ।

कार्यालय बन्द रहेपनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए । शुक्रबारसम्म टोखामा २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये १०९ जना होम आइसोलेसन र ४८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । नगरपालिकाले कोरोना सङ्क्रमणको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्यकेन्द्रलाई आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

अहिले २० बेड क्षमता रहेको आइसोलेसन सेन्टर स्थापना गरेपनि आगामी दिनमा उक्त आइसोलेसन सेन्टरको क्षमता वृद्धि गरेर सय बेड पुर्याउने नगरपालिकाले जनाएको छ ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई दैनिक ३५० भत्तासमेत नगरले प्रदान गर्दै आइरहेको छ।

नगरपालिकाद्वारा जारी सूचना:-

प्रतिक्रिया दिनुहोस्