गैरआवासीय नेपालीलाई छिट्टै नागरिकताको व्यवस्था हुन्छ: परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं भदौ २० ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।

अनलाइन माध्यमबाट शनिबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र स्तरको क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नागरिकताको व्यवस्था गर्न संविधानले नै सुनिश्चित गरिसकेको बताए ।

त्यसका लागि आवश्यक विधेयक तथा कानून निर्माणको प्रक्रिया अबका दिनमा अघि बढ्ने उनले जानकारी गराएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गरेका छन् । उनले देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध भई अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको लगानी र विदेशमा सिकेको सीप, ज्ञान र अनुभव उपयोग गर्न सरकार सधैँ तयार रहेको उनले बताए। पछिल्लो समय कोरोनाको महामारीबाट विश्वसँगै नेपालमा पनि त्यसबाट असर पुगेको बताउँदै मन्त्री ज्ञवालीले अप्रत्याशित विपत्तिबाट देशमा या विदेशमा रहेका नेपाली जनतालाईजोगाउनका लागि सरकार ले काम गरिरहेको उल्लेख गरेका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा विभिन्न विषयमाथि अन्तरक्रियात्मक कार्यशालाहरु सञ्चालन हुनेछन् । सम्मेलनबाट टोरोन्टो घोषणापत्र जारी गर्दै सो घोषणापत्र एनआरएनए आइसिसीमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्