मल आपूर्ति नगर्ने ठेकेदारलाई कारबाही गर्ने विप्लवको चेतावनी



काठमाडौं भदौ २० ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले मल आपूर्ति गर्ने ठेक्का लिएर पूरा नगर्ने कम्पनी एवम् ठेकेदार, रेल विभागका महानिर्देशकलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । सरकारले त्यस्ता भ्रष्ट कर्मचारी र ठेकेदारलाई कारबाही नगरे जनताको माग बमोजिम आफूहरुले कारबाही गर्ने विप्लव नेकपाले चेतावनी दिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा किसान मल नपाएर छटपटाइ रहेको, कोरोना संक्रमितको संख्या झन्झन् बढ्दै गएकोबेला सरकारले मलको ठेक्का भ्रष्टहरुलाई दिएर गल्ती गरेको उल्लेख छ । नेकपाले यो कार्य घोर आपत्तिजनक, किसानहरूको बालीनालीमाथिको खेलबाड र राष्ट्रका विरुद्ध अक्षम्य आपराधिक खेलका रूपमा लिएको जनाएको छ ।

आफ्नो पार्टीको लोकप्रियता बढेपछि र जनताको माझमा प्रिय भएपछि यसलाई बदनाम गर्न, पार्टीका नाममा चन्दाको आतंक मच्चाउने गुन्डा, लुटेरा, सुराकी, भगौडा र आपराधिक तत्वहरू ज्यान फालेर लागेको आरोप पनि विप्लव नेकपाले लगाएको छ । चन्दाका नाममा आतंक मच्चाउने र जबर्जस्ती असुली गर्ने कार्य आफ्नो पार्टीको नभएको विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्