कोरोनाबाट बच्न कस्तो मास्क प्रयोग गर्ने ?



काठमाडौं भदौ २० ।

कोरोना भाइरस महामारीसँगै यसबाट बच्न हाम्रो जीवन पद्दतिमा थुप्रै परिवर्तन गर्नु परेको छ।

यसमध्येको प्रमुख मास्क हो । कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मास्क लगाउनु अनिवार्य मात्र होइन, औषधि जस्तै बन्न पुगेको छ।

आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि आफ्नो घरबाट बाहिर निस्केर जुनसुकै ठाउँहरुमा जाँदा पनि मास्क लगाउनु एक अनिवार्य शर्त बनिसकेको छ। यद्यपि मास्क सामाजिक दूरीको विकल्प कदापि होइन। सङ्क्रमणबाट जोगिन एक आपसमा दूरी कायम राख्दै मास्कको उचित प्रयोग गर्नु आवश्यक भएको विज्ञहरू बताउँछन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्न मास्क प्रयोग गर्नु जीवनको अभिन्न कार्य बन्दै जाँदा बजारमा अनेकौं खालका मास्क उत्पादन भइरहेका छन्।

मास्क विभिन्न पदार्थले बनेका, विभिन्न मोटाइ भएका, फरक–फरक तह भएका हुन्छन्। मास्कमा प्रयोग गरिएका कपडामा हुने प्वालको आकार, प्रकार र तिनको घनत्व महत्वपूर्ण हुन्छ। सोही बमोजिम तिनमा तरल पदार्थ, हावा तथा धुलोमा रहेका ड्रपलेट, भाइरस, ब्याक्टेरिया, जीवाणु तथा किटाणुलाई रोकथाम गर्ने क्षमता पनि फरक–फरक हुन्छ। मास्कमा हुने यिनै फरक गुणहरुले गर्दा श्वास फेर्दा कति सजिलो वा असहज हुन्छ भन्ने पनि निर्धारण हुन्छ।

मास्कले कसरी काम गर्छ ?

अहिले बजारमा धेरैखालको मास्क पाइन्छ । त्यसमध्ये सर्जिकल मास्क आमनागरिकले धेरै प्रयोग हुने गरेका छन् । कपडाको मास्कले राम्ररी काम गर्दैन । त्यसैले सर्जिकल मास्कको प्रयोग बढेको छ । अर्को, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एन नाइन्टिफाइब मास्क ९५ प्रतिशतसम्म किटाणु रोक्ने भएकाले यसलाई एन नाइन्टिफाइभ भनिएको हो । यस मास्कको बनोट र काम पनि फरक किसिमको छ ।

मेडिकल मास्क

यदि कुनै व्यक्तिलाई सङ्क्रमण भएको छ र रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ भने खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा निस्किने सानासाना कणलाई रोक्ने काम यो मास्कले गर्छ । मेडिकल मास्कको सबैभन्दा महत्वपूर्ण काम भनेको एउटा बिरामी मान्छेबाट अर्कोमा यसले सङ्क्रमण सर्नबाट रोक्छ ।

‘एन नाइन्टिफाइभ’ जस्तो मेडिकल मास्क प्रभावकारी छैन, तर राम्रोसँग लगायो भने यसले ७० देखि ८० प्रतिशत किटाणुलाई सर्नबाट रोक्छ । यसको प्रयोग गर्दा ठूलो खालको मास्क लगाउनु हुँदैन । यसले दुबैतिरबाट किटाणु छिर्न सक्ने हुन्छ । त्यसैले आफूलाई उपयुक्त हुने मास्कको प्रयोगा गर्नुपर्छ । बिरामी भेट्न जानुपर्ने भयो भने भेट्न जाने व्यक्तिले मास्क लगाउनै पर्दछ । फेरि अर्को बिरामी भेट्न जानुपर्दा मास्क फेर्नु पर्दछ । मेडिकल मास्क बिरामीले लगायो भने रोग अरुलाई सर्ने सम्भावना कम हुन्छ ।

मास्कले गर्ने काम

मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ ।

सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ ।
बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भाइरसलाई फिल्टर गर्ने क्षमता हुन्छ ।
भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ ।
यसले प्रदुषणलाई भने रोक्न सक्दैन ।

मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।
यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।
मास्कको एउटा भागमा अलि कडा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।
मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।
मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ,
यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।
कुनै बिरामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्