काठमाडौंका सात वडा कोरोना ‘हट स्पट’



काठमाडौँ,भदौ २१ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या सात हजार ३८ पुगेको छ । यो संख्या उपत्यकामा दश दिनमै दोब्बर सङ्क्रमित संख्या हो । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४ सय ८६ जना सङ्क्रमित थिए ।

राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा। शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुने बताउनुहुन्छ ।

कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारीबमोजिम सङ्घीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दैआएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।

काठमाडौँसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शय्या व्यवस्थापन गर्न जुटेको काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । तर व्यवस्थापन भइनसकेको अवस्थामा मात्रै सङ्क्रमित हुने बढ्दो छ । र काठमाडौँ महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षणविहीन सङ्क्रमितको सङ्ख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।

काठमाडौँका कोभिड–१९ हटस्पट

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।

काठमाडौँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ ।

महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डङ्गोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको खोजी हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन् ।” उहाँले थप्नुभयो ।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्