रातो मच्छिन्द्रनाथको रथ आइतबार दिउँसो ३ बजे तानिने



काठमाडौं भदौ २१ । रातो मच्छिन्द्रनाथको रथ आज आइतबार दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

बिहानैदेखि १९ औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए । गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले जानकारी गराए ।

लोकनाथ र मीननाथका दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले शनिबार र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि।सं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्