उपत्यका प्रवेश नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल



काठमाडौं भदौ २१ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए । त्यसको व्यवस्थापनका लागि उपत्यका प्रवेश गर्ने नाकामा सेना खटाउनुपर्ने उनले बताए ।

यसबारे प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टरमा समेत पठाएपनि कुनै निर्णय नभएको उनले बताए । उनले उपत्यकामा कडाई गर्नुपर्ने र सहजीकरण गर्दै जानुपर्ने अप्ठ्यारो रहेको बताए । चार महिनाको लकडाउन र पछिल्लो पटक तीन साताको निषेधाज्ञाका कारण मानिसहरुले खान नपाएको गुनासो आउन थालेको भन्दै दाहालले कोरोनासँग बाच्न सिक्नुर्ने बताए ।

अहिले पनि जनस्वास्थ्यका मापदण्ड सीमित मानिसहरुले मात्र पालना गर्ने गरेको भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए । सरकारका निकायहरुले आफ्नो मातहतमा पर्ने क्षेत्रको अनुगमन गर्नुपर्ने उनको धारणा छ ।

प्रजिअ दाहालले क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्नुपर्ने, पीसीआर टेष्टका लागि स्वाब दिएकाहरुलाई रिपोर्ट नआउँदासम्म घरमै राख्नुपर्नेमा जोड दिए । कोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्