काठमाडौं उपत्यकामा दसैँसम्म निषेधाज्ञा लगाउने तयारी



काठमाडौं भदौ २१ ।

काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञा गर्न प्रस्ताव गरिएको छ ।

प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिको छलफलमा ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञाको तयारी गरिएको जानकारी दिए ।

कोरोनाको संक्रमण उपत्यकामा ह्वात्तै बढेकाले दशैँसम्म नै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिँदै आइतबार सम्पन्न बैठकमा भट्टले निषेधाज्ञाले उपत्यकाको अवस्था भयावह हुनबाट बचेको जानकारी दिए ।

उनले तीजको समयमा लगाइएको निषेधाज्ञाले प्रभावकारी काम गरेको दाबी गरे । दशैँमा मानिसको आवतजावत बढ्ने भएकाले कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने भन्दै उनले सहजीकरण गर्दै निषेधाज्ञालाई दशैँसम्म कायम राख्नुपर्नेमा जोड दिए ।

काठमाडौं उपत्यकामा अहिले दैनिक झण्डै २ हजार जना भित्रिएकाले उपत्यकाको नाकामा सेना परिचालन गर्नुपर्नेमा समिति बैठकमा जोड दिइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाल प्रहरीले सबैक्षेत्र हेर्नुपर्ने भएकाले नेपाली सेना परिचालन गर्नुपर्नेमा जोड दिए ।

सेना परिचालनका लागि कोभिड–१९ संकट व्यवस्थापन सेन्टर सिसिएमसीमा प्रस्ताव समेत पठाए पनि कुनै निर्णय नभएको जानकारी दिँदै उनले कोरोनाका कारण मृत शरीरको व्यवस्थापनका लागि पनि ठाउँ खोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्