स्वास्थ्यमा समस्या देखिएपछि हेलम्बुले गर्यो हेलिकप्टरबाट शिशुको उद्धार



सिन्धुपाल्चोक,भदौ २१ ।

हेलम्बु गाउँपालिका इचोकको वर्थिङ सेन्टरमा जन्मिएको शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल हेलिकप्टरबाट उद्धार गरिएको छ।

हेलम्बु १ की फुर्वा डोल्मा शेर्पाको नवजात शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाले हेलिकप्टर बोलाएर बच्चालाई काठमाडौं पठाई उद्धार गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

फुर्वालाई लामो समय सम्म व्यथा लागेर आइतबार बिहान ९ बजेर ५ मिनेट जाँदा बच्चा जन्माएका थिए । बच्चामा श्वासप्रश्वासको समस्या देखिएपछि काठमाडौं लानुपर्ने स्वास्थ्यकर्मीले सल्लाह दिए। बच्चा जन्मिएपछि श्वासप्रश्वासमै समस्या देखियो अध्यक्ष शेर्पाले भने, तत्काल हेलिकप्टर बोलाएर काठमाडौंको कान्ति बाल अस्पताल पठायौं ।

विकट ठाउँमा गर्भवती हुन नसकेकाहरुको सरकारले निशुल्क उद्धार गरी अस्पताल पुर्याउने गरेको छ । तर बच्चाको उद्धार भने नगर्ने भएकाले गाउँपालिकाले आफ्नै खर्चमा कैलाश हेलिकप्टरबाट बच्चाको उद्धार गरेको हो । हाल बच्चाको स्वास्थ्यमा सुधार आएको बताइएको छ।

इचोकमा यो आर्थिक वर्षमा मात्रै २६ बच्चा जन्मिसकेका छन् । इचोक वर्थिङ सेन्टर सिन्धुपाल्चोकको विकट ठाउँमा रहेको सुविधा सम्पन्न वर्थिङ सेन्टर हो ।

प्रतिक्रिया दिनुहोस्