रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पुर्‍याइयो, ललितपुरमा सोमवार निषेधाज्ञामा थप कडाई



काठमाडौं भदौ २१ ।

रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताए । रथलाई ६ ७ किलोमिटर सम्म बुङमती नपुर्‍याइ केही बेर तानेर टुङ्ग्याइने उनले जनाए । भदौ २६ गते उपयुक्त साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमती लगिने कार्यक्रम तय भइसकेको बताए ।

त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उनले बताए । यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन । प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति विना रथ तान्न थालेपछि विवाद भएको थियो ।

यसैबीच निषेधाज्ञा उलंघन भएको ठहर गर्दै ललितपुर प्रहरीले सोमबारबाट कडाई गर्ने भएको छ। ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार सोमबारबाट ललितपुरमा निषेधाज्ञा झन कडा गरिने छ। उनका अनुसार ललितपुरमा निषेधाज्ञाको उलंघन हुँदा कोरोनाको जोखिम झन् बढ्दै गएपछि यस्तो तयारी गरिएको हो।

सरकारले खाद्यन्न, डेरी, औषधि पसल जस्ता अत्यावश्यक पसल खुल्ने अनुमती दिए पनि अरु पसलहरु समेत खुलेको देखिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्