‘उपत्यकामा दसैंसम्म निषेधाज्ञा,नाकामा सेना परिचालन’



काठमाडौं, भदौ २२ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाउनुपर्ने सुझाव दिएका छन। निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा समेत कडाइ गर्न र नाकामा सेना परिचालन गर्नुपर्ने उनीहरुले बताएका छन् ।

आइतबार भएको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि उपत्यकामा दसैंसम्म निषेधाज्ञा कायम गरेर नाकामा सेना परिचालन गर्नुपर्ने राय दिएका हुन् ।

बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने सुझाव दिए । विभिन्न बहानामा मानिस उपत्यका भित्रने क्रम नरोकिएको र चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई भित्र्याउनु परिरहेको भन्दै उनले नाका नै ठप्प पार्न नसकिएको बताए ।

‘चाहेर वा नचाहेर पनि दैनिक २ हजारको संख्यामा मानिसलाई उपत्यका भित्र्याउनुपरिरहेको छ, नाका नै ठप्प पार्न सकिने अवस्था पनि छैन । विभिन्न ढुवानीका साधनमार्फत मानिस आवतजावत भइराखेका छन्, त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखियो,’ बैठकमा धारणा राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले भने । दाहालले डीडीएमसीबाट सेना परिचालनबारे निर्णय गरेर पठाइएको तर सीसीएमसीमा त्यो कुराको सुनुवाइ नभएको हो कि भन्दै गुनासोसमेत गरे ।

बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरूबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

उनले उपत्यकाभित्र ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने र बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राखिनुपर्ने भन्दै कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने लैजाने गरिनुपर्ने बताइन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले चाडपर्वको समयमा मानिसको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्