कोरोनाबाट मृत्यु हुनेको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने लिम्बू पक्राउ



काठमाडौं,भदौ २२ । कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आफूलाई आयुर्वेदिक चिकित्सक बताउने सुबास लिम्बू रहेका छन् । लिम्बूले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिने क्रममा कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भनेर भ्रम फैलाएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।

उनलाई प्रहरीले ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ गरेको हो । लिम्बूले कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउँदै आफू आयुर्वेदिक चिकित्सक भएको,आफूले कोरोनाविरुद्धको खोप बनाएको र त्यो प्रमाणित हुन बाँकी रहेको दाबी गर्दै आएका थिए ।

यसअघि विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने उजुरीका आधारमा सातादोबाटो प्रहरी वृत्तले समेत पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्