काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटाउने तयारी



काठमाडौं भदौ २३ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटाउने तयारी भएको छ ।

नागरिकको जनजीवन कष्टकर बनेपछि भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश हटाउने तयारी भएको हो । निषेध आदेशको सबैतिरबाट विरोध हुन थालेपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सरोकारवालासँग छलफल थालेका छन् ।

तेस्रो चरणमा थपिएको निषेध आदेश भोली मध्यरातबाट सकिँदै छ । त्यसैले उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् । मंगलवार दिनभर सबै सरोकारवाला निकायसँग छलफल गरेपछि निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

उनले कोही भोकभोकै नपरुन् र संक्रमण पनि नफैलियोस् भन्ने योजनाअनुसार निर्णय गरिने जानकारी दिए । भीडभाड हुने सार्वजनिक सवारीसाधन, होटल, रेस्टुरेन्ट लगायतका क्षेत्र नखोलेर अन्य क्षेत्र खोल्ने प्रशासनको तयारी छ ।

निजी सवारीसाधनलाई जोरबिजोर प्रणाली लागू गरेर चल्न दिने निर्णय गर्ने तयारी पनि स्थानीय प्रशासनको छ ।

प्रतिक्रिया दिनुहोस्