किन चाहँदैनन् आमाले छोरी ?



कुनै कारणवस अपवाद सन्तान नभएकालाई छाड्ने हो भने सबै नारी एकदिन आमा बन्ने शौभाग्य पाउँछन् । एउटी नारी छोरी, बहिनी, श्रीमती, बुहारी, भाउजू, काकी, माईजू, आमाजू हुँदै सासुसम्म बन्छिन् । तर समाजले नारीको स्वरुपलाई त्यतिबेलासम्म पूर्णता मान्दैन जबसम्म उनी आमा बन्दिनन् । स्वभावैले नारीहरु सानैदेखि बच्चाप्रति अलिक बढी नै लगाव राख्छन् । आफ्ना घरमा भएका भाइबहिनी मात्रै होइन छर छिमेकीमा भएका स–सना बालबालिकाप्रति पनि उनीहरु आकर्षित हुन्छन् ।

आमाको ममता र छोराछोरी

जब एक नारी आफू आमा बन्छे अनिमात्र मातृत्वको महत्व थप बुझ्दै जान्छे । नारी अर्थात् आमा सृष्टिको नमुना र ममताको खानी हुन् । त्यस्तो ममताको खानी न कहिल्यै रित्तिन्छ न कहिल्यै सकिन्छ । आमाको ममताले कहिल्यै पनि छोराछोरी भनेर छुट्याउँदैन । यो त हाम्रो समाज पितृसत्तात्मक नियम कानुनको परिबन्धमा बाँधिएका कारण छोराछोरीबीच भेदभाव हुने गर्दछ । केही उच्च र शिक्षित परिवारमा लैंगिक विभेद नभए पनि गाउँघर र शिक्षाको पहुँच बाहिर अझ भनौं पितृसत्तात्मक र पुरातनवादी सोच भएको परिवारमा छोरा अनिवार्यजस्तो नै छ । समाज र परिवारको बाध्यतामात्रै होइन छोराकै चाहनाले गर्दा ८–९ जना छोरी जन्माउने आमाहरु पनि हाम्रो समाजमा छन् । ९ जनासम्म छोरी जन्माएर पनि एउटी आमाले समाजको प्रश्नबाट उन्मुक्ति पाउन नसकेर श्रीमान्‌लाई दोस्रो बिहे गर्न स्वीकृती दिनुपर्ने सामाजिक र पारिवारिक बाध्यताका कारण ती आमाहरु छोरा चाहन्छिन् ।

किन चाहाँदैनन् त आमाले छोरी

मैले अघि पनि भनेँ आमाको ममता छोरछोरीका लागि फरक कहिल्यै हुँदैन । सबै आमा महान् हुन्छन्, आमाको ममताको न्यायालय फराकिलो र बृहत् छ । तर आमाले छोरा नै चाहन्छन् । उसो त नारीबिना सृष्टि असम्भव छ । सबै आमाहरुले छोरा नै चाहने हो भने सृष्टि कसरी अगाडि बढ्छ ? भन्ने प्रश्न उठ्न सक्छ । तर हाम्रो समाजमा दिनहुँ छोरीहरुमाथि भइरहने बलात्कार, हत्या, हिंसा लगायतका घटनाले गर्दा धेरै आमाहरुले मेरो छोरी नभइदिएको भए हुन्थ्यो भन्ने सोच्छन् । छोरीहको माया नभएर होइन छोरीहरु असुरक्षित भएकाले धेरै आमाहरु छोरी चाहँदैनन् ।

त्यसैमाथि विभिन्न सञ्चारमाध्यममा आउने बलात्कार, बलात्कारपछि हत्या, बाबुद्वारा छोरी बलात्कृत, एसिड आक्रमण, दाइजोको निहुँमा बुहारीको हत्या जस्ता समाचारका कारण छोरी भएका आमाहरुको मनलाई अझ तरंगित बनाउँछ । विभिन्न युट्युब च्यानलहरुमा स–सानो कुरालाई बढाइचढाई प्रसारण गर्ने प्रवृत्तिले त्रसित हुन्छन् आमहरु । छोरी भएका धेरै आमाहरु भन्छन् । छोरी घरमा एक्लै हुँदा होस् या स्कुलबाट समयमा घर नफर्किंदा मन आतिन्छ । मनमा अनेकथरी कुराहरु खेल्छन् । उनीहरु भन्छन् छोरीहरु जति बढ्दै जान्छन् उत्ति नै मनमा चिन्ता बढ्दै जान्छ ।

छोरी जन्माउने यी अभागी आमाहरु

भनिन्छ छोरीहरु घरका लक्ष्मी हुन्, छोरी बिनाको घर शुन्य हुन्छ, छोरी जन्माउने आमा भाग्यमानी हुन् छोरीले आमाको साथ कहिल्यै छोड्दिनन् । तर हाम्रो समाजमा यस्ता आमाहरु छन् । जो मृत छोरीको न्यायका लागि लडिरहेका छन्, घाइते अवस्थाका छोरीहरुको पीडा हेर्दै तड्पिरहेका छन् ।

जस्तैः निर्मला पन्तकी आमा दुर्गादेवी

निर्मला पन्त बलात्कार र हत्याकाण्ड नेपालमा भएको एक दर्दनाक हत्याकाण्डमध्ये एक हो । यसमा कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी र बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । वि.सं. २०७५ साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । निर्मलाको हत्या भएको २ वर्ष बितिसकेको छ तर अझै उनको हत्यारा पत्ता लाग्न सकेको छैन । आमा दुर्गादेवी छोरीको न्यायका लागि लडिरहेकी छन् ।

मुस्कान खातुनकी आमा सहनाज खातुन

२०७६ भदौ २० गते बिहान करिब ६ बजेतिर घरबाट विद्यालय हिँडेकी १४ वर्षीया मुस्कान खातुनमाथि वीरगन्जमा एसिड प्रहार भयो । जसका कारण उनको अनुहार नै कुरुप बनेको छ । उनीमाथि एसिड प्रहार गर्नेलाई कारबाही त भयो तर मुस्कानको अनुहारमा मुस्कान आउन सकेन । मुस्कानकी आमा छोरीको पीडामा छट्पटाउँदै बाँचिरहेकी छिन् ।

निर्मला छोरी भएकै कारण बलात्कार र हत्याको सिकार बनिन्, मुस्कानलाई छोरी भएकै कारण एसिड छ्यापियो यदि मुस्कान र निर्मला छोरा हुन्थे भने दुर्गादेवी र सहनाज खातुनले सायदै यस्तो पीडा भोग्नुपर्ने थिएन होला । दुर्गादेवी र सहनाज त उदाहरणमात्रै हुन् । हाम्रो समाजमा त्यस्ता हजारौं आमाहरु छन् । जसका छोरीहरु आफन्त पर्ने केही दानवरुपी पुरुषबाट बलात्कृत भएका छन्, दिन दाहडै बाटोमा हिँड्दा एसिड आक्रमणको सिकार बनेका छन्, दाइजो कम ल्याएको निहुँमा जिउँदै शरीरमा आगो लगाएर मारिएका छन् ।

नेपालमा बलात्कारको अवस्था

पछिल्लो दुई आर्थिक वर्षको तथ्यांकअनुसार नेपालमा हरेक दिन औसतमा ६ वटा बलात्कारका घटना हुने गरेको तथ्यांकले देखाउँछ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लगाइएको लकडाउन र निषेधाज्ञाका समयमा नेपालमा ६ सय ३२ बलात्कारका घटना सार्वजनिक भएका छन् । पछिल्लो समय आफन्त, चिनजानको व्यक्तिबाटै बालिकाहरू बलात्कृत हुने क्रम बढ्दो रहेको पाइएको छ ।

यस्तोमा आफ्नी छोरीलाई सुरक्षित राख्न नसकेको पीडा आमाले भोग्नु परेको हुन्छ । यसको मतलब कदापी यो होइन कि बाबु वा परिवारका अन्य सदस्य पीडित हुँदैनन । तर समाजमा बढ्दो यस्ता घटनाले गर्दा आमाले आफ्नो छोरीप्रति हरेक पुरुषसँग सशंकित हुनुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्