बैकल्पिक र दुर शिक्षामा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ



नुवाकोट भदौ २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परम्परागत शिक्षाभन्दा पनि बैकल्पिक र दुर शिक्षालाई अब मुख्य बनाएर जानु पर्नेमा जोड दिएका छन् ।

नुवाकोटमा मंगलबार आयोजित अनलाईन संस्करणको वत्तृत्वकला प्रतियेगिताको प्रमुख अतिथि तथा प्रमुखवक्ता मन्त्री पोखरेलले तीन तहकै सरकारको भूमिकाहरुलाई प्रस्ट पार्दै जाने गरी बैकल्पिक र दुर शिक्षाको तयारी थालिएको बताए । नगरपालिका र गाउँपालिकाहरुलाई अनौपचारिक शिक्षा र दुरशिक्षामा आफ्नो कार्यक्रम तयार गर्न पनि उनले निर्देशन दिएका छन् । साथै एफएम रेडियो तथा टेलिभिजनलाई शिक्षामा प्रयोग गर्नु अहिलेको आवश्यकता रहेको उनले सुनाए ।

अझै दुई वर्षसम्म कोभिड–१९ को त्रास रहने भएकोले परम्परागत शिक्षा प्रणाली प्रभावित हुने उनको अनुमान छ । विद्यालयहरु अन्तिममा मात्रै खुल्ने भएकाले पनि दुई वर्षसम्म पढाईलाई दुर शिक्षामा रुपान्तरण गर्नु आवश्यक रहेको उनले बताएका छन् ।

घरलाई नै शिक्षालयको रुपमा विकास गर्नु आवश्यक : सांसद तामाङ
नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद् हितबहादुर तामाङले घरलाई नै शिक्षालयको रुपमा विकास गर्नु आवश्यक रहेको बताएका छन् । अभिभावक, शिक्षक र जनप्रतिनिधिहरुले सहयोग गर्ने र घर घरलाई नै शिक्षालयका रुपमा विकास गर्नु नै उत्तम रहेको उनको भनाइ छ । सांसद तामाङले परम्परागत र शिक्षा मन्त्रालयले भनिआएको विषय र प्रणाली मात्रै लागू गर्नुपर्छ भन्ने नभएको बताए । उनले दुर शिक्षा, बैकल्पिक शिक्षा र अनौपचारिक शिक्षाबाट विद्यार्थीहरुको बाँकी रहेको समय सदुपयोग गर्नु पर्ने बताए । झण्डै आधा शैक्षिक सत्र सकिन लाग्दा पनि देखिएको अलमलले विद्यार्थीहरुको समय खेर जानेतर्फ उनले चिन्ता व्यक्त गरेका छन् ।

राहत शिक्षकहरुको पक्षमा सहयोग गर्नका लागि स्थानीय सरकारहरुलाई आग्रह गरेका छन् । संघीय शिक्षा मन्त्रालयले राहत शिक्षकहरुलाई समायोजनको क्रममा समस्या सम्वोधन गर्ने भनिएको बेलामा समायोजनका क्रममा स्थानीय सरकारले आफ्नै अनुकुलतामा सरुवा गरेर समस्या भएको तामाङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्