ढुक्क भएर मिनी आइपीओमा लगानी गर्न सगुनको आग्रह



अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ।

कम्पनीद्वारा जारी गरिएको रेग ए प्लस मिनी आइपीओबारे जानकारी गराउन जुममार्फत आइतबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सगुनका संस्थापक गोविन्द गिरीले सगुनले लामो यात्रा पार गरेको र प्रयोगकर्ताहरुको विश्वास र माया जित्न सफल भएको बताए । “सन् २०१५ बाट सुरु भएको हाम्रो एप आज विश्वका लाखौं मानिसको हातहातमा पुगेको छ, हिजोका दिनमा सर्वसाधारणको पहुंचमा नभएका अन्तर्राष्ट्रिय प्लेटफर्म पनि आज लगानीकर्ताहरुका लागि सुनौलो अवसर बनेको छ ।”

उनले एपमा भिडियो, च्याट लगायतका फिचरहरु छिट्टै उपलब्ध हुने जानकारी पनि गराए । उनले विश्वभरका लगानीकर्ताहरुलाई मिनी आइपीओमार्फत लगानी गर्न आह्वान पनि गरे । कानूनी मान्यताअनुसार लगानीकर्तामाझ आएको सगुनले आगामी जनवरीबाटै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको उनले बताए ।

फेसबुक, ट्वीटरजस्ता ठूला कम्पनी जुन नेपालीको पहुंचमा छैनन्, तिनमा सर्वसाधारणको लगानीका लागि कुनै प्लेटफर्म नभएपनि सगुनले भने सर्वसाधारणका लागि लगानीको वातावरण बनाएको भन्दै गिरीले नेपाली डायस्पोराका लागि यो लगानीको उत्तम अवसर भएको बताए ।

संस्थापक गिरीले अहिले फेसबुकले नेपालबाट बर्षेनी २२ अर्ब रुपियाँ विज्ञापनबाट आम्दानी गर्ने गरेको अनुमान गरिएको बताउँदै सगुनले त्यो रकम नेपालमै रोक्न चाहेको बताए। “हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं। यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौं,” उनले भने।

संस्थापक गिरीले आफूले सन् २०१४ मा अमेरिकाको प्रतिष्ठित जागिर छाडद आफुसंग जम्मा १,३०० डलर रहेको र सहसंस्थापक सिटौलासंग मिलेर स्थापना गरेको कम्पनी सगुन इंकलाई सन् २०२३ मा न्यूयोर्क स्टक एक्सचेन्जमा दर्ता हुने प्रवासी नेपालीहरुले स्थापना गरेको पहिलो कम्पनी बनाउने आफ्नो सपना रहेको बताए। उनले ‘एग्रीगेट न्युज’ को क्षेत्रमा आफुहरुले काम गरिरहेको र नेपाली मिडियासंग दीर्घकालीन रुपमा साझेदारको रुपमा काम गर्न चाहेको बताए। “एउटा कम्पनीको रुपमा सगुनको वृद्धि हुँदै जाँदा संसारभरि रहेका नेपाली मिडिया पनि अवश्य लाभान्वित हुने छन्,” उनले भने।

सेप्टेम्बर महिनाभर लगानीको अवसर

सगुनले “ग” श्रेणीको साधारण शेयर मिनि (आइपिओ) प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ । आगामी सेप्टेम्बर ३० तारिख सम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले आइपिओ खरिद गर्न पाउनेछन् । नेपालको कानून अनुसार नेपालबाट विदेशी कम्पनीहरुमा लगानी गर्न नपाइने त्यस्तै अमेरिकी कानूनले उत्तर कोरिया र इरानका नागरिकहरुलाई अमेरिकी कम्पनीहरुमा लगानी गर्न रोक लगाएको छ ।

कम्तीमा ३० कित्ता शेयर नौ सय डलरमा खरिद गर्न सकिने प्रावधान रहेको छ । सन् २०२१ को शुरुमा सेकेण्डरी आइपिओमा जाने रणनीति रहेकोले पनि मिनि आइपिओमार्फत लगानीको अवसर यही नै अन्तिम पटक हुने सगुनका सहसंस्थापक कविन सिटौलाले जनाए।

सगुनको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले https://www.sagoon.com/invest मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्नेछन् । अहिले संसारभरि सगुनका प्रयोगकर्ताहरु ८१ लाख बढी रहेको सो कम्पनीले जनाएको छ ।

कार्यक्रममा सगुनका नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य तथा सगुनकी सह संस्थापक स्वाति दयालले क्रमशः नेपाल र भारतमा सगुनका सेवा तथा उत्पादनबारे जानकारी दिएका थिए। सगुनका प्रयोगकर्ता विशेषगरी अमेरिका, नेपाल र भारतसहित दक्षिण एसियाली मुलुकमा बढीरहेका छन् । नेपालमा प्रभु ग्रुप, भाटभटेनी, फेवा बजारसंग सगुनको सम्झौता भइसकेको र अन्तर्राष्ट्रिय कारोबार सहज बनाउन नविल बैंकसग छिट्टै सहकार्य गर्न लागेको सगुनले जनाएको छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूमध्ये सगुन ५ औं स्थानमा छ।

सगुनका ग्लोबल कोर्डिनेटर सूर्य गुरुङले लगानी गर्नासाथ प्रतिफल खोज्ने सोच राख्न उपयुक्त नहुने बताए । उनले भविष्यको लागि र सगुनको भिजनमा साथ दिने र विश्वास गर्ने सबै धन्यवादका पात्र भएको बताए । उनले सगुनको यात्रा धेरै अघि बढेको र यो यात्रामा कोही प्रवासी नेपाली पनि छुट्नुहुन्न भन्दै विश्वभरका नेपालीसहित अन्य लगाीकर्तालाई समेत जोड्दै जाने बताए । सो पत्रकार सम्मेलनमा नेपाल र नेपाल बाहिरका गरी ७० भन्दा बढी पत्रकार र सगुन ग्लोबलका सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्