दुर्गम क्षेत्र उडानका लागि जहाज खरिद गर्न मन्त्रीको निर्देशन



काठमाडौं भदौ २४ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्र उडानका लागि हवाई जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँगको बैठकमा मन्त्री भट्टराईले दुर्गमका जनताको सेवाका लागि जहाज खरिद गर्नुपर्ने भन्दै योजना अघि बढाउन निर्देशन दिएका हुन् ।

भट्टराईले नेपाल एयरलाइन्सलाई पब्लिक मोडलमा लैजानको लागि नागरिक लगानी कोष, सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी खाका बनाउन पनि निर्देशन दिएका छन् ।

मन्त्री भट्टराईले निगम ठूलो घाटामा भएकोले देशभर रहेको अचल सम्पत्ति व्यवसायीक रुपमा उपयोग गर्न पनि आग्रह गरेका छन् । उनले निगमलाई आर्थिक रुपमा उकास्नको लागि खर्च कटौती तथा मितव्यययिता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न र बैठक भत्ता घटाउन पनि निर्देशन दिएका छन् ।

त्यस्तै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्