पहिरोले नुवाकोट घ्याङफेदीका १३३ घरधुरी विस्थापित, पीडितहरु ओडारमा



उमेरले झण्डै सय वर्ष लागेका वृद्धासहित ओडरमा स्थानीय
  • चिउरा र दालमोठले दिन कटाउँदै

साझा पथ संवाददाता

नुवाकोट, भदौ २४ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका १३३ घर परिवार विस्थापित भएका छन् । पहिरोको डरले ५ सय २४ जनाले घर छाडेका छन् ।

पानीसँगै दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुको छुट्टाछुट्टै स्थानमा मंगलबार बिहान गएको पहिरोका कारण गाउँबस्ती नै जोखिममा परेपछि उनीहरु घर छाडेर अन्यत्र गएका हुन् । घ्याङ्फेदीका विस्थापितहरु मंगलबारदेखि ओडारमा बास बसिरहेका छन् ।

ओडारको बास, चिउरा र दालमोठको गाँस

ओडारमा आगो तापेर रात कटाउदै स्थानीय

ज्यान बचाउन घर छाडेर सुरक्षित स्थानतर्फ लागेका स्थानीय ओडारमा रात बिताउन विवश छन् । कतिपय आफन्तकोमा आश्रय लिन पुगे भने कतिपय टेन्टको अस्थायी आवासमा बसिरहेका स्थानीय युवा कृष्णमान तामाङले साझा पथलाई बताए । ‘धेरैजसोले आवश्यक सामान बोक्नसमेत भ्याएनन्’, युवा तामाङ भन्छन्, ‘ज्यान त जोगियो भोक, प्यास र रोगले पो मरिन्छ कि भन्ने चिन्ता छ ।’

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले साझा पथसँग कतिपयलाई गएको रात चिउरा, चाउचाउ बाढेको बताए । उनका अनुसार बुधबार जिल्ला दैवीप्रकोप केन्द्र नुवाकोटबाट प्राप्त टेन्ट सिसिपु लगिएको छ । कतिपयलाई सो टेन्टमार्फत बनेको थप आवासमा राखिने तयारी रहेको बताए ।

पहिरोले खानेपानी समस्या

पहिरोले खानेपानी मुहान तथा पाइप क्षतबिक्षत भएको छ।

पहिरोका कारण खानेपानीको मुहान् बगाएको छ भने खानेपानीका पाइपसमेत बगाएको छ । सयौं खेतीयोग्य जमिन बगर बन्ने सम्भावना बढेर गएको छ । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुनबहादुर तामाङले भने, ‘तत्काल मानवीय क्षति न्यूनीकरणका लागि हामी लागि परेका छौं बाँकी बिस्तारै व्यवस्थापन गर्नेछौं ।’

सिसिपुको पाखाबाट झरेको दुई पहिरोका कारण बस्ती पुर्ण जोखिममा परेको छ। तस्वीर:कृष्णमान तामाङ/सिसिपु

प्रतिक्रिया दिनुहोस्