आज विश्व आत्महत्या रोकथाम दिवस: नेपालमा दैनिक १९ जनाले गर्छन आत्महत्या



काठमाडौं,भदौ २५ । बिहिवार (आज ) विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाइँदै छ ।

नेपालमा कोरोना भाइरसको महामारीसँगै आत्महत्या गर्ने २० देखि ३० प्रतिशत बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको चैत्र १० गतेदेखि साउनसम्म झण्डै २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । कोरोना सङ्क्रमणको यो बेला औसत दैनिक १९ जनाले आत्महत्या गरेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाले निम्त्याएको आर्थिक, सामाजिक, पारिवारिक समस्या र मानसिक तनाव झेल्न नसकेर आत्महत्या हुने गरेको र त्यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने बताए।

विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । यो वर्ष कोरोना महामारीका कारण उत्पन्न समस्याले विगतको तुलनामा मनोसामाजिक समस्या र आत्महत्याको दर बढेको छ । आत्महत्या गर्ने व्यक्तिले पहिले नै परिवार, आफन्त वा साथीभाइलाई पूर्वसङ्केत दिने गरेको समेत पाइएको छ । त्यस्ता व्यक्तिलाई सकारात्मक विकल्प देखाएर र आवश्यक पर्दा मनो चिकित्सकसँग परामर्श गराए ज्यान जोगाउन सकिने मनो चिकित्सक डाक्टर सरोजप्रसाद ओझाले बताए । उनले कोभिड–१९ मा आत्महत्या बढेकाले सबै मिलेर जनचेतना फैलाएर त्यसलाई कम गर्नुपर्नेमा जोड दिएका छन।

कोरोनाका बेलामा भिटामिन सी खाने, भिटामिन डी प्राप्त गर्ने तथा सागपात, फलफूलजस्ता सन्तुलित खानेकुरा र दैनिक योग र व्यायाम गर्न पनि उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्