चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय, प्रचण्ड पूर्ण कार्यकारी अध्यक्ष



काठमाडौं भदौ २६ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले चैतमा महाधिवेशन गर्ने भएको छ ।

नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारीका लागि दुई महिनापछि कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि नेकपाले गरेको छ ।

ओली र प्रचण्डको विवाद मिलाउन महाधिवेशन गर्नैपर्ने निर्णयमा नेकपा पुगेको हो । गोप्य सहमतिअनुसार चैतमा हुने महाधिवेशनमा ओलीले प्रचण्डलाई समर्थन गर्ने चर्चा छ । सोही अनुसार स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिएको छ ।

ओली र प्रचण्डकै सहमतिअनुसार शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार र ओलीलाई स्वतन्त्र रुपमा सरकार चलाउने छुट दिने निर्णय गरेको हो । अब प्रचण्डले सरकारले गरेका काममा आलोचना र हस्तक्षेप गर्न भने पाउने छैनन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । प्रस्तावमाथिको छलफलमा भाग लिदै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहित १३ नेताले बोलेका थिए ।

साथै नेकपाले पार्टीभित्रको सम्पूर्ण विवाद अब अध्यक्ष ओली र प्रचण्ड मिलेर गर्ने निर्णय गरेको छ । तर यो निर्णयमा बरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् । उनले आफ्नो एजेन्डा सम्बोधन नगरिएको भन्दै ओली र प्रचण्डसँग असन्तुष्टि जनाएका छन् । जुन कुरा उनले बैठकमा समेत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्