भक्तपुर घटना : आमा छोराको हत्या, सुदीपको आत्महत्या



भक्तपुर भदौ २७ ।

मध्यपुर नगरपालिका वडा नं ९ निकोसेरामा भएको घटना र शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको धारिलो हतियार प्रहार गरी हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

शुक्रबार साँझ सुदीप अधिकारी, श्रीमती सम्झना र वर्षीय छोरा सुशान्तको घरभित्रै फरक–फरक कोठामा शव फेला परेको थियो। घटनास्थलमा फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर सुदीपले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोराको टाउकोमा गहिरो चोट भए पनि घरमा बाहिरी मान्छेको प्रवेश नदेखिएकाले सुदीपले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ। हत्यामा घरकै दाउ धारिलो हतियार प्रयोग देखिएको प्रहरीले जनाएको छ। प्रहरीले सुशान्तको शवसँगै दाउ फेला परेको थियो।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ‘श्रीमती र छोराको हत्या पहिल्यै भएको र पछि आफूले आत्महत्या गरेको देखिन्छ’, , ‘आमा(छोराको शव गन्हाएको छ तर उनको त्यस्तो छैन।’ पहिलो तलाको ढोका नजिकै कुकुर मरिररहेको अवस्थामा छ।

त्यसको भित्र छोराको कोठा रहेको र उनको शव आफ्नै बेडमा छ। हत्याको समयमा उनले केही संघर्ष गरेजस्तो देखिन्छ। उनको टाउकोमा गम्भीर चोट छ।

शवले थिचेको अवस्थामा दाउ फेला परेको छ। घोप्टो परेको उनको शवलाई पहेंलो कपडा ओढाइएको छ। त्योभन्दा माथिल्लो तलामा आफ्नै बेडमा श्रीमतीको शव दायाँपट्टि पल्टिएको अवस्थामा छ। उनको पनि टाउकोमै गहिरो चोट छ। उनको शवलाई सेतो कपडा ओढाइएको छ। शव गनाएको छ।

त्योभन्दा माथिल्लो तलामा रहेको किचनमा सुदीप लडिरहेका छन्। ट्वाइलेटमा बमिट गरिएको छ। त्यो बमिट प्रहरीले परीक्षणका लागि पठाएको छ। तर, उनको शरीरमा कहीँकतै चोट देखिँदैन। अरुको भन्दा उनको लास आलै देखिन्छ। नजिकै कुकुरलाई पानी दिने गरेको भाँडो छ। भाँडामा भएको पानीमा झिँगा मरिरहेका छन्। सुदीपको पनि हातमा पहेंलो केही लागेको देखिन्छ।

शनिबार बिहान घर पछाडि रहेको धानबारीमा प्रहरीले दुई वटा सल्फरको बट्टा फेला पारेको छ। घरको दक्षिणतर्फ फेला परेका ती रित्तो बट्टा पनि परीक्षण गरिने महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए। पोस्टमार्टम, फरेन्सिक परीक्षण र विस्तृत अनुसन्धानबाट थप प्रस्ट हुने भए पनि अहिलेसम्मको अनुसन्धानले सुदीपले आमा छोराको हत्या गरेर आफूले आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रतिक्रिया दिनुहोस्