नेपालका २१ वटा हिमताल फुट्ने खतरा, सतर्कता अपनाउन विज्ञको आग्रह



काठमाडौं भदौ २७ ।

नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फट्ने खतरा रहेको देखाएको हो ।

जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको आग्रह छ । शून्य दशमलव ०२ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरु जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायु विज्ञ डा. अरुण श्रेष्ठले बताए। त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन् ।

प्रतिवेदनले नेपाल बाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमतालहरुलाई खतराको सूचीमा रखेको छ । नेपालमा सबैभन्दा बढी कोशी बेसिन तथा तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ । तिब्बत क्षेत्रमा २५ र भारतमा १ वटा हिमताल यस्तो खतरामा रहेका छन ।

कहिले फुट्न सक्छन् भनेर मिति तोक्ने सक्ने अवस्था नभएपनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरु जोखिममा रहेको सतर्क रहन उनले आग्रह गरेका छन् ।

जोखिम न्यूनिकरणका लागि नेपालको तर्फबाट धेरै कामहरु भएको उनको भनाइ छ । जोखिम न्यूनिकरणको पहिलो पाइला स्वरुप अहिलेको रिपोर्ट सार्वजनिक भएको उल्लेख गर्दै उनले अब स्थलगत अध्ययन गरी रिपोर्टलाई थप परिस्कृत गर्नुपर्ने बताए।

अहिलेको अध्ययन भूउपग्रहले खिचेको तस्वीरहरुको विश्लेषण हो । विगतमा च्छो रोल्पा र इम्दा हिमतालमा जल सतह घटाउने काम समेत भएको उनले बताए । जलवायु परिवर्तनसँग यसको सम्बन्ध भएकाले आगामी दिनमा जोखिम झन् बढ्दै जाने उनले बताए । अब पानीको सतह कम गर्दै पूर्व सूचना प्रणालीको विकास गर्नुपर्ने उनको भनाइ छ ।

अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ती हजार ६ सय २४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये २ हजार ७० वटा नेपाल, एक हजार ५ सय ९ वटा तिब्बत र ४५ वटा भारतमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्