जनकपुरमा दुई पक्षबीच झडप, प्रहरीद्वारा अश्रु ग्यास प्रहार



धनुषा भदौ २७ ।

जनकपुरमा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार झडप भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

मुस्लिमहरूको मोहरम्म पर्व सम्बन्धमा सामाजिक सञ्जालमा भएको टिप्पणी विषयमा दुबै पक्षबीच भएको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको उनले बताए ।

देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहा पठाइएको छ ।

दुई समूह तितरबितर भएको र थप विवाद हुन नदिन प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यलयमा दुई पक्ष राखेर छलफल भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्