यस्तो लेखे वाग्मती प्रदेशका मन्त्री युवराज दुलालले ‘नुवाकोट डायरी’



भदौ २६ गते
१. बिहान ५ बजे हेटौंडाबाट यात्रारम्भ गरी ८ घन्टा लामो मोटर यात्राबाट दिउँसो १ बजे नुवाकोटको उत्तरको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी पुगियो ।

२. घ्याङफेदीको सिसिपु गाउँ भदौ २३ गते आएको पहिरो र थप पहिरो जाने संभावनाले करिब १७० घर जोखिममा रहेको, तत्कालको लागि अस्थायी ठाउँमा अस्थायी आवासको ब्यबस्थापनको लागि सरकारका तर्फबाट लगिएको सामान हस्तान्तरण, बस्ती स्थान्तरणका सवालमा नागरिक अन्तरक्रिया
गरियो । दुप्चेश्वर -१, घ्याङफेदी पूरै वडामा करिब ९०० घरधुरी रहेको र झण्डै ८०० घर जोखिममा रहेको स्थानीय सरकारका पदाधिकारी र स्थानीय नागरिक मार्फत जानकारी प्राप्त भयो ।

साविक घ्याङफेदी गा.वि.स. चेलीबेटी बेचबिखनको दर्दनाक परिघटना ब्यहोरेको ठाउँ पनि हो । वाग्मती प्रदेशकै मानव विकास सूचकाङ्कमा पछाडि रहेको ठाउँ पनि भएकोले त्यहाँका नागरिकको अवस्था, मनोविज्ञान बुझ्ने मेरो दायित्व र इच्छा दुवै थियो । सरकारका तर्फबाट यहाँको भौगर्भिक अध्ययन र नयाँ संभानाको खोजी गरी बस्ती स्थानान्तर गर्नुपर्ने निष्कर्षसहित फर्कियौं ।

३. दिउँसो ४:३० बजे दुप्चेश्वर गाउँपालिकाको कार्यालयसँगै, प्रदेश सरकारको विशेष बजेटबाट निर्मित स्वास्थ्य भवन र त्यस स्वास्थ्य चौकीको अध्ययन र त्यसलाई अस्पतालमा स्तरोन्नति गर्ने सवालमा पालिकाका पदाधिकारीसँग आवश्यक छलफल गरियो ।

४. साँझ ६ बजे तादी गाउँपालिकाको खरानीटार अस्पताल, (गत आ.व.देखि प्रदेश सरकारको कार्यक्रमअन्तर्गत अस्पतालको सेवा सञ्चालन भएको) को अवलोकन र त्यसको विकासका सवालमा स्थानीय सरकार र अस्पताल टीमसँग छलफल गरी अस्पताललाई थप सुदृढ गर्ने निष्कर्ष भयो ।
५. करिब ९ बजेतिर सदरमुकाम विदुरमा आइ बास बसियो ।

दोश्रो दिन : भदौ २७
६. बिहान ८ बजेबाट स्वास्थ्य कार्यालय र त्रिशूली अस्पतालको अवलोकनपश्चात् आवश्यक छलफल गरियो । नुवाकोट जिल्लामा कोभिड-१९, रोकथाम, नियन्त्रण र उपचार (आइसीयू र भेन्टिलेटरसहित) को व्यबस्थालाई थप सुदृढ गर्ने निष्कर्ष भयो । (त्रिशूली अस्पताल प्रदेश सरकारले १०० शय्या क्षमताको जनरल अस्पताल बनाउने योजना र यसै वर्षबाट भौतिक निर्माण, औजार उपकरण र जनशक्ति ब्यबस्थापनको कार्य अघि बढेको छ । र, केही दिनमा कोभिड-१९ परीक्षण ल्याब पनि सञ्चालन हुँदैछ)

७. १२ बजे विदुर नगरमा रहेका प्रदेश विकासका कार्यक्रमका सवालमा स्थानीय जनप्रतिनिधि र युवाहरुसँग छलफल

८. दिउँसो १ बजे नेकपा नगर पार्टी कमिटीको बैठकलाई सम्बोधन ।

९. ३ बजे विदुरबाट हेटौंडाको लागि प्रस्थान

(साथमा मा. हितबहादुर तामाङ, मा.राधिका तामाङ, जि.स.स. प्रमुख सन्तमान तामाङ, लगायत)

प्रतिक्रिया दिनुहोस्