काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९७ संक्रमित थपिए



काठमाडौं,भदौ २८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ५ सय ९७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएकामध्ये काठमाडौंमा ४ सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जनासहित काठमाडौं उपत्यकामा ५ सय ९७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३९ जनासहित देशभर संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३८ हजार ६ सय ९७ जना उपचारपछि घर फर्किएका छन् भने कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्